03/17/2026
ब्लु डाइमण्ड सोसाइटीले यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको तर्फबाट प्रतिनिधित्व गर्दै प्रतिनिधिसभा सदस्यमा मनोनित भएकी भूमिका श्रेष्ठलाई कलम उपहारसहित सम्मान गरेको छ।
सोमबार सोसाइटीको कार्यालयमा आयोजित कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट समानुपातिक प्रणालीमार्फत प्रतिनिधिसभामा मनोनित श्रेष्ठलाई सम्मान गरिएको हो। कार्यक्रममा सांसद श्रेष्ठले आदिवासी जनजाति, मुस्लिम, मधेसी, अपाङ्गता भएका व्यक्ति तथा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका आवाज सदनसम्म पुर्याउने प्रतिबद्धता व्यक्त गरिन्। उनले समुदायका मुद्दा उठाउन सबैको साथ, सहयोग र सुझाव आवश्यक रहेको बताइन्। सोसाइटीकी पूर्वअध्यक्ष पिंकी गुरुङले लामो संघर्षपछि समुदायको प्रतिनिधित्व संसदसम्म पुगेको भन्दै यसले नयाँ आशा जगाएको बताइन्। त्यस्तै, सोसाइटीकी कार्यकारी निर्देशक मनिषा ढकालले सांसद श्रेष्ठलाई कलम उपहार प्रदान गर्दै विभेदकारी कानुनहरू खारेज गर्न पहल गर्न सुझाव दिइन्। भूमिका श्रेष्ठ ट्रान्सजेन्डर महिलाको रूपमा पहिलोपटक संसदमा प्रतिनिधित्व गर्न लागेको बताइएको छ।
तस्बिरहरु: नेपाल फोटो लाइब्रेरी