05/07/2026
जापानमा नेपाली युवाको प्रेरणादायी यात्रा: भाषा नजान्ने विद्यार्थीबाट आइटी इन्जिनियर बने निर्मल चौलागाईं
सन् २०२२ मा जापानी भाषा नजान्ने अवस्थामै जापान पुगेका निर्मल चौलागाईं आज जापानमा रहेका धेरै नेपाली विद्यार्थी र युवाका लागि प्रेरणा बन्ने यात्रामा छन्।
सुरुवाती दिनमा कन्टेनर धुने कामबाट संघर्ष सुरु गरेका चौलागाईंले छोटो समयमै अध्ययन, काम र प्रतिभाका विभिन्न क्षेत्रमा उल्लेखनीय सफलता हासिल गरेका छन्। जापान पुगेको दुई वर्षमै उनले क्योटो आसुका अकाडेमीयाबाट टपर अर्थात् (卒業総代 )को सम्मान प्राप्त गरे। त्यससँगै जेएलपीटी एन१ उत्तीर्ण गर्दै ईजेयू पास गरेर क्योटो कम्प्युटर गाकुइनको सूचना विज्ञान विभागमा अध्ययन गर्ने करिब १ हजार नेपाली विद्यार्थीमध्ये एकमात्र नेपाली बन्न सफल भए।
उच्च तलबसहितको सुरक्षित जागिरको प्रस्ताव आए पनि उनले “पैसाभन्दा ज्ञान ठूलो हो” भन्ने सोचका साथ आइटी क्षेत्र रोजे। अहिले उनी ओसाकास्थित आइटी कम्पनीमा इन्जिनियरका रूपमा कार्यरत छन्।
उनको मेहनत र योगदानको सम्मानस्वरूप आफू अध्ययन गरेको क्योटो आसुका एकेडेमीले सन् २०२६ मा उनलाई विशेष अतिथिका रूपमा निमन्त्रणा दिएको थियो। पूर्व अन्तर्राष्ट्रिय विद्यार्थीका लागि यस्तो सम्मान दुर्लभ मानिन्छ।
चौलागाईं केवल अध्ययन र काममा मात्र सीमित छैनन्। उनी र्यापर (ईएनएसआई),डीजे, कन्टेन्ट क्रिएटर, ग्राफिक डिजाइनर, कम्युनिटी लिडर, नेपाली राइडर्स जापानका संस्थापक तथा नेपालस्थित ईएनएसआई रेस्टुरेन्ट लाउन्ज एन्ड बारका संस्थापक पनि हुन्।
जापानमा रहेका नेपाली विद्यार्थीलाई सहयोग, मार्गदर्शन र प्रेरणा दिने काममा पनि उनी निरन्तर सक्रिय छन्। करिब डेढ वर्षदेखि बुबा क्यान्सरसँग संघर्ष गरिरहँदा पनि परिवारको जिम्मेवारी सम्हाल्दै अध्ययन, काम, समाजसेवा र सिर्जनामा निरन्तर लागिरहनु उनको यात्राको सबैभन्दा प्रेरणादायी पक्ष बनेको छ।
निर्मल चौलागाईंको जीवनले देखाएको छ- सपना ठूलो भए, मेहनत सच्चा भए र सिक्ने इच्छा कहिल्यै नमरे असम्भव भन्ने शब्द आफैं कमजोर बन्दै जान्छ।